Telephone
 ०२३-४५५०५३| 023-455053
Location
Bhadrapur, Jhapa Nepal
भूकम्प पिडितको लागि काठ उत्पादन ,आपूर्ति र बेबस्थापन निर्देशिका 2072 | बन बिकासमा २५ प्रतिशत रकम लगानी गरौ | जिल्ला वन कार्यालय, झापा |

परिचय



झापा नेपालको पूर्वाञ्चल विकाश क्षेत्रको दक्षिण पूर्व तराई भेगमा अवस्थित जिल्ला हो । पछिल्लो जनगणना, २०६८ अनुसार मानव विकास समग्र सुचाङ्कमा यो जिल्ला तेश्रो स्थानमा रहेको छ । नेपालको सवैभन्दा होचो भुभाग केचनावल (५८ मिटर) र सवभन्दा लामो पक्की पुल कन्काई (७०२ मिटर ) यसै जिल्लामा पर्दछन् । नेपालको एकिकरणपछि राणाकालिन समयमा मोरङ्ग र झापाको प्रशासकीय नियन्त्रण र निर्देशन मोरङ्ग गोश्वाराबाटै हुने गरेको थियो । राजवंशी भाषामा यो जिल्लाको नामाकरण भएको मानिन्छ । उहिले चन्द्रशम्शेरले गढी निर्माण गरेकोले झापाको सदरमुकाम चन्द्रगढी नामाकरण भएको भन्ने भनाई छ । पूर्वमा भारतको वंगाल र विहार राज्य, पश्चिममा मोरङ्ग जिल्ला, उत्तरमा इलाम जिल्ला र दक्षिणमा भारतको विहारसँगै जोडिएको यो जिल्लाको पूुर्व पश्चिमको औषत लम्बाई ४६ कि.मी. र उत्तर दक्षिणको औषत चौडाई २९ कि.मी. रहेको छ । २००७ सालपछि सबै कार्यालयहरु झापाबाट चन्द्रगढी सारिए र चन्द्रगढी जिल्लाको सदरमुकाम हुन गयो । सदरमुकाम चन्द्रगढी पूर्व पश्चिम राजमार्गको विर्तामोडवाट १३ कि.मि. दक्षिणमा पर्दछ । २००८ सालमा भद्रपुर नगरपालिका भएपछि यहाँका अधिकतम सरकारी कार्यालयहरु भद्रपुर न.पा. भित्र पर्दछन् । यस जिल्लामा भद्रपुर न.पा.(चन्द्रगढी र महेशपुर समेत विस्तार), मेची न.पा. र दमक न.पा.,कन्काई न.पा. ,शिव सतासी न.पा.,विर्तामोड न.पा.,शनि अर्जुन न.पा.,गौरादह न.पा. गरी ८ वटा नगरपालिका छन् ।
करिव चार दशक अगाडि यो जिल्ला वन सम्पदाको दृष्टिकोणले अत्यन्त धनि मानिन्थ्यो । मलेरियाको प्रकोपले मानिसहरु यहाँ वसोवास गर्न डराउँथे र यो जिल्ला पूर्वि भेगको कालापानीको नामले चिनिने गर्दथ्यो । वन क्षेत्रको रेखदेख करिव १९९९ तिर वनजाँच अड्डाको नामबाट शुरु भएको बुभिन्छ । उक्त अड्डा त्यसबेला भद्रपुरमा रहेको थियो र समय समयमा निम्न संस्थाको नामहरुबाट वनको संरक्षण तथा व्यवस्थापन गर्ने कार्य भएको र हाल जिल्ला वन कार्यालय झापाको नामबाट वनको संरक्षण र व्यवस्थापन गर्ने कार्य भै रहेको छ ।

२००७ साल — मेची डिभिजन अफिस
२०१६ साल — झापा वन निरिक्षण अड्डा
२०१६ साल — मेची वन डिभिजन
२०३३ साल — झापा वन डिभिजन कार्यालय
२०४०÷०४१ साल — जिल्ला वन कार्यालय, झापा
२०४२÷०४५ साल —जिल्ला पं.स., वन शाखा झापा
२०४६÷०४७ साल देखि हालसम्म—जिल्ला वन कार्यालय, झापा

Image title
दोस्रो विश्व युद्धताका वन पैदावारको आपूर्तिको लागि राम्रो जातको काठ कटान गरी निकासी गरियो जस्ले गर्दा वनलाई ठूलो आघात पुग्न गयो । २००७ साल पश्चात वन उपयोगमा तीव्रता आयो । क्रमिकरुपले वन फडानी गर्दै वसोवास गराउने कार्यक्रमहरु लागू गराइए । जिल्लाको दक्षिणतर्फ पर्ने पृथ्वीनगर गा.वि.स. अन्तर्गत पर्ने वन क्षेत्र ठूलो मात्रामा कटान गरी पूर्वी पहाड, वर्मा तथा भारतको आसामबाट आएका मानिसहरुलाई वसोवास गराइयो । २०१३ सालमा यस जिल्लामा भएका सम्पूर्ण वन राष्ट्रियकरण गरियो र वन जंगलमा निजि स्वामित्वको अन्त भयो । वन जंगलको राष्ट्रियकरणले जनतामा नकारात्मक सोचको विकास भै जतिसक्दो छिटो आफ्नो स्वामित्वको जंगल उपभोग गर्न उन्मूख गरायो । उक्त कारणले वनको संरक्षण हुन नसक्दा धेरै जंगल क्षेत्र नोक्सान भै वन क्षेत्र साँघुरिदै गयो । विगतमा प्रशस्त वन क्षेत्र रहेको यस जिल्लामा हाल १९,५५७ हे. मात्र वन क्षेत्र रहेको छ । सन १९६७ र १९७५ मा यस जिल्लामा अनुमानित क्रमशः ७८,३७२ र ३६,००० हे.क्षेत्र वनले ढाकेको थियो ।
विगत ७० को दशक भन्दा अगाडि झापा जिल्ला अन्तर्गको वन क्षेत्रलाई व्यवस्थापन गर्नका लागि कुनै वन व्यवस्थापन योजना (Forest Management Plan) वनाइएको पाइँदैन । सन १९७३ मा वन विभागले दश वर्षका लागि (१९७३-७४ देखि १९८३-८४ मेची वन डिभिजनको Forest Management Plan तयार गर्यो जस्मा झापा जिल्ला समेत समावेश गरिएको थियो । तर उक्त Plan  लागू हुन सकेन । सन १९८४ देखि १९८८ सम्म यस जिल्लामा कुनै Forest Management Plan तयार भएन । राष्ट्रिय वन योजना २०३३ ले अपनाएका विविध पक्ष समेत यस जिल्लामा पूर्णरुपले लागू हुन सकेन । सन् १९८४-१९८८ को अवधिमा विभिन्न वन संरक्षण तथा व्यवस्थापनका क्रियाकलापहरु वार्षिक कार्यक्रम (Annual Plan) तयार गरी संचालन गरियो । सन् १९८९ मा जिल्ला वन कार्यालय, झापाले पाँच वर्षे (०४६-०४७–०५०-५१) वन कार्य योजना (Working Scheme) तयार गरी वन संरक्षण एवं व्यवस्थापन गर्न थालेको हो । सन. १९९६ मा झापा जिल्लाका लागि वन विभागले वन अनुसन्धान तथा सर्वेक्षण केन्द्रको सहयोगमा ५ वर्षे वन व्यवस्थापन कार्ययोजना (OFMP, 1996-2001) तयार गरी तत्कालीन श्री ५ को सरकार (माननीय मन्त्रिस्तर) को मिति ०५५-१-२२ को निर्णयानुसार उक्त कार्य योजना स्वीकृत भै सो अन्तरगत सरकारी वनको व्यवस्थापन गर्ने कार्य भयो ।
वन क्षेत्र र विकास कार्यका आधारमा वन तथा भू–संरक्षण मन्त्रालयले सन् १९९३ मा नेपाल अधिराज्यका जिल्ला वन कार्यालयहरुलाई क देखि ङ श्रेणीमा वर्गिकरण गरी वन संरक्षण तथा व्यवस्थापन गर्दै आइरहेको छ । उक्त वर्गिकरणमा झापा जिल्ला वन कार्यालयलाई ‘ख’ श्रेणीमा राखिएको छ । झापा जिल्ला वन सम्पदामा विगतको समयमा कत्तिको सम्पन्न थियो र के कति परिमाणमा वन सम्पदा घट्दै गयो भन्ने कुरा निम्न आँकडाबाट पनि अनुमान गर्न सकिन्छ । भएको वन जंगलको हैसियत पनि ह्रास भएको अवस्था छ । तर, समूहरुको सकृय सहभागिताका कारण पछिल्ला वर्षहरुमा पुनर्रउत्पादनको अवस्था उत्साहप्रद छ । वनहरुमा विरुवा, लाथ्रा पोथ्रा पोलको बाहुल्यता छ भने भएका रुखहरु बुढा, धोद्रा भएको अवस्था छ ।



निम्न
सन १९६७ — अनुमानित वन क्षेत्र — ८७,३७२ हे.
सन १९७५ — अनुमानित वन क्षेत्र — ३६,००० हे.
वि. सं. २०३२ सालसम्म यस जिल्लामा ८७,८३२ हे. वन रेकर्डबाट देखिन्छ
हाल — १९,५५७ हे (१२.६%)
नदिनालाले ढाकेको — १५,१४९ हे (७.८%)